सोनसिक सेमिनार डायरी
(यो मेरो लेख मिति:January 18, 2017, www.fonijkorea.net मा प्रकाशित भएको थियो।)
मेश परियार : कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले आयोजना गर्ने सबै जसो कार्यक्रमहरुमा कोरियामा रहेका विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुको ध्यान आकर्षण हुने गर्दछ । कोरियामा अध्ययनरत नेपाली बिधार्थीहरुलाई बिगत १३ वर्ष देखि एक ढिक्का बनाएर, नेपाल र कोरियामा रहेका सम्पूर्ण नेपालीहरुका लागि यसले गर्दै आएका कामहरुको सफलताले गर्दा नै यो संस्था नेपालीहरु बीच लोकप्रिय रहेको छ।सोनसिकले गर्ने सबै कार्यक्रमहरुको जानकारी आफ्ना सम्पूर्ण कोरिया भरि छरिएर रहेका सदस्यहरुलाई सामाजिक सञ्जाल तथा ईमेल मार्फत दिने गर्दछ। बिगत २ वर्षदेखि मेरो ईमेलमा पनि यस्ता कार्यक्रमहरुको जानकारी आइरहन्छ। कति पटक यस्ता ईमेलले दिक्क नपारेको पनि हैन । जस्तो कि अती व्यस्त समयमा आउने इमेलको नोटिफिकेसन, राति सुतेपछि निद्रा बिग्रने गरि बज्ने इमेलको घन्टी ! तर यी इमेलहरु आफ्नै जानकारीको लागि उपयोगी हुने हुँदा समय मिलाएर सकेसम्म पढिहाल्छु।
सोनसिकले गर्न लागेको ५ औ शैक्षिक सेमिनारको इमेल मलाई पनि आयो। खोलेर हेरे मिति २०१७/०१/१४ देखि १५ मा चुसन युनिवर्सिटीमा हुने रहेछ। पात्रो पल्टाएर औला भाच्दा २१ दिन अझै बाकि रैछ भन्ने थाहा भयो। मनमनै सोच्दै थिए यो मौसमको बरु कति बेला के हुन्छ भन्ने विभिन्न एप्लिकेशनबाट अन्दाज लगाउन सकिने भैयो तर आफैले गर्ने यो ल्याबको काम भोलि के हुन्छ भन्ने कुरा अन्दाज लगाउन अझै भैयन। एउटा सोच्यो परिणाम आउछ अर्को अनि त्यस पछि सुरु हुन्छ किन यस्तो भयो , के ले गर्दा भयो , अब के गर्नु पर्छ भन्दै सोच्दै गर्दै जादा समय यसरी बित्छ कि लाग्छ दिन २४ हैन ३० घण्टा को होस् , हप्ता ७ दिन को हैन १० दिन को होस् । अनि तपाइँ आफै भन्नु २१ दिन पछिको कुरा कसरि भन्न सक्ने थिए म त्यतिबेला ? कार्यक्रमको पुरा तालिका आएपछि त्यहि अनुसार विचार गर्नु पर्ला भन्ने सोचे र आफ्नै काममा लागे।
जब कार्यक्रमको पुरा तालिका आयो, सबै कार्यक्रमहरु र बिषय वस्तुहरु सान्दर्भिक लाग्यो अनि समय तालिका मिलाएर जाने निदो गरि रजिस्ट्रेसन फर्म भरे, जाने नै भए पछि पोस्टर पनि लग्दा राम्रो हुने लाग्यो र तदअनुसार फर्म पठाए। सोनसिकले पोस्टर प्रदर्शन गर्न प्रोत्साहन स्वरुप रजिस्ट्रेसन शुल्क नलाग्ने र उत्कृष्ट ५ बटा पोस्टरलाई नगद र प्रमाणपत्रले पुरुस्कृत गर्ने सूचना दिएको थियो। मलाई लाग्छ धेरै जनालाई यसले प्रोत्साहित गर्यो होला ,यसरि प्रोत्साहित हुनेमा म आफु स्वयम् पनि पर्दछु। ४० वटा पोस्टरहरुको सहभागिताले साच्चिकै पोस्टर प्रदर्शन सफल भएको प्रमाणित गर्दछ जुन कार्य निकै प्रसंसनिय छ।
शैक्षिक सेमिनारमा सहभागी हुन १४ तारिकमा हामी वोनखोवंग युनिवर्सिटीबाट ६ जना सगै गएका थियौ, अरु दिन भन्दा चीसो अलि धेरै नै थियो ।त्यो दिन लगभग २ घण्टामा हामी पुग्यौ। बसबाट झर्न साथ जाडोले यस्तो स्वागत गर्यो कि गलबन्दीको माली र टोपी नलगाई सुखै दिएन। युनिवर्सिटी अलि उचाईमा रहेछ हावा चलेपछि त जाडोले हामी सबैलाई आछु आछु नै बनाएको थियो। जाडो अत्यन्त धेरै भएकोले हाम्रो पाइला अरु बेलाको भन्दा अलि चाडै हल तिर लम्कियो।
हामी कार्यक्रम हालमा पुग्दा सबै जना एसियन ग्लोबल कल्चर सेन्टर घुम्न जानु भएको रहेछ। हामी आउन ढिला भएकोले जान पाएनौ। बिस्तारै सबैजना साथीहरु, अग्रजहरु, फर्कनु भयो। उनीहरुको घुमेको कुरा सुन्दा लाग्यो हामीले एक महत्वपुर्ण घुम्नु पर्ने, बुज्नु पर्ने, ठाउँ छुटाएछौ तर ल्याबको काम गरेको सम्झेर भने चित्त बुझाए। ग्लोबल कल्चर सेन्टर घुम्ने क्रममा साथीहरुलाई पनि चिसोको अनुभव भएछ। उहाँहरुले पनि जाडो बढेको कुरा गर्नु भयो प्राय सबैको भनाइ थियो कि यो वर्ष को सबै भन्दा धेरै जाडो त्यस दिन अनुभव भयो। तर सोनसिकको रमझमले तातेको भब्य माहोलमा बाहिर जति सुकै जाडो भएपनी हामी माझ खासै टिक्न भने सकेन।
सोनसिकको रात्री भोजमा सबै साथीहरुसंग, अग्रजहरुसंग भेटघाट, भलाकुसारी गर्ने मौका मिल्यो। नेपालीहरुको कार्यक्रमको सबै भन्दा रमाइलो पक्ष भनेको यो भेटघाट नै लाग्ने गर्दछ मलाई। आ-आफ्नो कार्यव्यवस्थाले नजिकै भएको साथी पनि धेरै पछि यस्तै बेला भेट हुने गर्दछन। सोनसिकले आयोजना गर्ने कार्यक्रमको आफ्नै छुट्टै उद्धेश्य त छदै छ त्यस भन्दा माथि नेपालीहरुबीच आत्मीयता र भाईचारा बढाउन ठुलो भूमिका खेल्दछ। बाहिर कठ्याँङरिदो जाडो, भित्र न्यानो हालमा आत्मीय साथीहरु सग बसेर मीठो परिकार खादाको त्यो माहोल आफै मा एक पर्ब भनेको थियो सोनसिक पर्ब !!!
रात्री भोज पछि डा. तारामान कडायतको वोर्कसप रहेको थियो। डा.कडायतले अनुसन्धानकर्ताहरुको लागि अत्यन्त आवश्यक र महत्वपूर्ण बिषय ‘अनुसन्धान कार्य लेखन र प्रकाशन’ सम्बन्धि बिस्तृत जानकारी दिनु भएको थीयो। सेमिनारको बीच बीचमा प्रश्न, उत्तर र गेमले वोर्कसपलाई थप रोचक बनाएको थियो। खचाखच भरिएको सेमिनार हालमा सहभागीहरु पनि अत्यन्त उत्साहजनक भएर सहभागी भएका थिए। विशेषगरि नयाँ विद्यार्थीहरुको लागि वोर्कसप ज्यादै उपयोगी रहयो । वोर्कसप सकिए पछि सबै जना भोलिपल्ट ९ बजे कार्यक्रममा भेट्ने भन्दै आराम गर्न तिर लाग्यौ । सुशील दाई र मेरो एउटै कोठा परेकोले हामी पनि आराम गर्न लाग्यौ। यो पालि सोनसिकले खान र सुत्नको लागि व्यवस्था राम्रो मिलाएकोले सबै जनाले प्रशन्सा गर्दै थिए।
भोलि पल्ट सुशील दाई र म ९ बजे कार्यक्रम हलमा पुग्दा कोहि त्यहाँ थिएनन। हामी नेपाली जुनसुकै देशमा पुगेर जुन सुकै ब्रान्डको घडि लगाए पनी समय भने सधै नेपाली नै हुने रैछ भन्ने लाग्यो। ९ बजेर १५ मिनेट पछि बिस्तारै सबै जना आउन थाल्नु भयो । ब्रेकफास्ट र नयाँ रजिस्ट्रेसन तथा अन्य काम गर्दा तालिका भन्दा २ घण्टा ढिला औपचारिक कार्यक्रम सुरु भयो। प्रमुख अतिथिमा नेपाली राजदुतावासबाट किरण शाक्य रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व सोनसिक १३ औ सभापति अराजना श्रेष्ठले गर्नु भएको थीयो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना साथै मन्तब्य राख्नु भएको थियो। मेरो ध्यान भने दोश्रो चरनको कार्यक्रम कति बेला सुरु हुन्छ भन्नेमा थियो।
औपचारिक कार्यक्रम पछि बिहानको खाना खाएर बल्ल सुरु भयो सबैको एकदमै प्रतीक्षारत दोश्रो चरणको कार्यक्रमहरु। दोश्रो चरणको कार्यक्रममा मुख्य वक्ता हुनुहुन्थ्यो, जापानबाट आउनु भएको प्रोफेसर डा. हरि देवकोटा। उहाले जापान तथा अन्य देशहरुको शिक्षा प्रणाली र अबस्थाको बारेमा तथ्याङ्कहरु संगै व्याख्या गर्नु भएको थियो र औषधीजन्य बनस्पतिको अनुसन्धानका साथै नेपालमा औषधीजन्य बनस्पतिको अनुसन्धानको चुनौती र सम्भावनाबारे आफ्नो अनुभवका साथै खोज कार्यहरुको बारेमा विस्तृतरूप जानकारी दिनु भएको थियो। डा. देवकोटाको सेमिनारमा नेपालमा रहेका धेरै सम्भावनाहरुबारे जानकारी पाउने मौका मिल्यो र आफुले जानेको सिकेको ज्ञान सिप नेपालमा गएर प्रयोग गर्ने प्रेरणा मिल्यो।
त्यस पछिका बक्ता हुनुहुन्थीयो डा. बिनोद प्रसाद लुइटेल, उहाले कोरियाको कृषि प्रणाली सम्बन्धि जानकारी दिदै कोरियाको कृषिबाट नेपालले सिक्नु पर्ने कुराहरुमा जोड दिदै नेपालमा कृषि क्षेत्रमा गर्नु पर्ने सुधारमा आफ्नो बिचार राख्नु भयो । त्यस्तै बिमला शर्माले नेपालमा कम चर्चा हुने तर सारै जटिल बन्दै गएको समस्या आत्महत्याबारे आकडा प्रस्तुत गर्दै यसका कारणहरु, तरिकाहरु लगायत विभीन्न पक्षहरुमा प्रकाश पार्नु भएको थियो । उहाले नेपालमा आत्महत्या सम्बन्धि जनचेतना जगाउनु पर्ने टतकारो आवश्यक परेको बारे आफ्नो विचारहरु राख्दै प्रस्टाउनु भएको थियो। त्यस पछि कन्चन मिश्रले अतिनै सरल भाषामा प्रभाबकारी तरिकाले ‘नानो पार्टीकल’बारे जानकारी तथा यसको महत्व बताउनु भएको थीयो। उहाले आफ्नो खोज कार्यहरुका अनुभबहरु बताउनु भयो साथै नेपालमा ‘नानो पार्टीकल’को अनुशन्धान , प्रयोग, संभाबित क्षेत्र र चुनौतीहरु बारेको ज्ञान सबै सामु साट्नु भयो।
त्यस पछि पोस्टर प्रदर्शनको समय रहेको थियो। विभिन्न क्षेत्रमा गरेको अनुसन्धान तथा ज्ञान मुलक ४० वटा पोस्टरहरु भित्तामा टासेर सबै जनाले आ-आफ्नो पोस्टर प्रस्तुत गर्दा सहभागीहरुको जिज्ञासा र ऊत्साह देखेर जो कोहि भन्न सक्ने थियो ‘कस्तो राम्रा अनुसन्धान कार्य गर्ने रहेछन नेपालीहरुले ‘। साच्चिकै पोस्टर सरसरति हेर्दा मात्र पनि धेरै जानकारी, ज्ञान प्राप्त गर्न सकिने थिए । पोस्टर प्रदर्शनमा एक अत्यन्त सफल पक्ष रहयो कार्यक्रमको।
उत्कृष्ट ५ वटा पोस्टरलाई पुरस्कृत गरिने हुदा पनि सबै जनाले आफ्नो पोस्टरलाई अरुको भन्दा राम्रो होस भनेर खुब मेहनत गरेको कुरा पोस्टर प्रदर्शनमा प्रस्ट हुन्थ्यो। मैले पनि पोस्टर बनाउन धेरै समय खर्च त गरे तर पोस्टर डिजाइन गरे जस्तो प्रिन्ट हुन सकेन, सोचे जस्तो नहुदा पोस्टर नगरौकि भन्ने सोच नआएको हैन तर धेरै समय पोस्टर बनाउन खर्च गरेकोले आफैले सादा कागजमा प्रिन्ट गरेर जसो तसो पोस्टर टासे ,आफ्नो पोस्टरसंग आफ्नै चित्त बुझिरहेको थिएन तै पनि अग्रज निर्णायकहरु सामु प्रस्तुत गरेर उहाँहरुको प्रतिक्रिया र सुझाब लिने धेरै आशा राखेको थिए तर मेरो त्यो चाहाना पुरा नहुदा भने मन अलि खिन्न भयो।
ल्याबको कामले गर्दा हामी कार्यक्रमको अन्तसम्म बस्न सकेनौ। धेरै राम्रा राम्रा बक्ताहरुको विचार सून्ने इच्छा हुदा हुदै पनि सेमिनार छुटाउनु पर्दा नमज्जा मान्दै फर्कियौ ।
समय अभाब देखाउदै बक्ताहरुलाई आफ्नो बोल्ने समय घटाउन अनुरोध गर्दा, म चाहि उनीहरुकै अनुभव बिचार सुन्न गएको मान्छेलाई भने धेरै कुरा बुज्ने, थाहा पाउने अवसर घुमेको अनुभब गरिरहेको थिए। समयमै कार्यक्रम सुरु गर्न सकेको भए सायद बक्ताहरुले आफुले भन्न खोजेको कुराहरु अझै राम्रोसंग व्याख्या गर्न सक्नुहुन्थ्यो होला, साथै धेरै अनुभवहरु बाडन सक्नु हुन्थ्यो होला। सबै सहभागीहरुले पनि प्रश्न राख्न पाएको भए कार्यक्रम अझै प्रभाबकारी हुने थियो भन्ने मलाई लाग्दछ। आशा गरौ आगामी कार्यक्रममा सोनसिकले समय ब्यवस्थापनमा पनि विशेष ध्यान दिने छ।
अन्तमा समग्रमा भन्नु पर्दा सोनसिकको यो ५ औ शैक्षिक सेमिनार मेरो लागि एकदमै फलदायी र ज्ञानबर्दक रहयो। विज्ञहरुको अनुभव सुन्ने, आफ्नो जिज्ञासा राख्ने, आफ्नो अनुभवहरु विज्ञहरुसंग साट्ने, सुनौलो अवसर जुटाईदिने सोनसिकलाई धेरै धन्यवाद र कार्यक्रम भब्य रुपमा सफलतापुर्वक आयोजना गरेकोमा स्थानीय आयोजक कोडिनेटर दिबेश झा, सोनसिक सभापति आरजना श्रेष्ठ नेतृत्वको टिम सबैलाई धेरै धेरै बधाई साथै आगामी दिनमा अझै सफलताको सुभकामना !