पार्किन्सन : हात खुट्टा काप्ने रोग
(यो मेरो लेख मिति: /2018/04/20, www.nepalihealth.comमा प्रकाशित भएको थियो।)
पहिलो पटक डा. जेम्स् पार्किन्सनले यस रोगबारे एक खोज प्रकाशित गरेका थिए । पछि उनकै नामबाट यो रोगलाई ‘पार्किन्सन रोग’ भनेर नामकरण गरियो।
नेपालमा “पार्किन्सन रोग” बारे त्यति धेरै चर्चा भएको थिएन । तर पछिल्लो समय बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठका कारण यस रोगले प्रसस्त चर्चा पाएको छ । उहाँ आफ्ना अन्तरबार्ताहरुमा आफुलाई भएको रोग पार्किन्सन बारे खुलेर बोल्नु हुन्छ र अरुलाई बुज्ने गरि सम्झाउनुहुन्छ ।
तसर्थ पार्किन्सन रोग के हो भन्ने सबैलाई जानकारी होस् भनेर यो लेख लेखिएको छ ।
पार्किन्सन रोग अल्जाइमर पछिको दोश्रो ठूलो मस्तिष्क सम्बन्धि रोग हो । जो अहिले संसार भरि नै एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ ।
संसार भरि करिब ७० लाख देखि १ करोड मानिसलाई पार्किन्सन रोग भएको अनुमान गरिएको छ । यो रोग मुख्यत वृद्ध अवस्थामा लाग्ने मानिए पनि लगभग ४ प्रतिशत पार्किन्सन बिमारीहरु ५० वर्ष भन्दा कम उमेरको पाईएको छ । र, महिलामा भन्दा पुरुषहरुमा यो रोग धेरै लागेको पाईन्छ।
नेपालमा पार्किन्सन रोगीहरुको संख्या के कति छ भन्ने आधिकारिक तथ्याङ्क नभए पनि एक सर्वेक्षणले सन् १९९० देखि यता पार्किन्सन रोगी ३५.७ प्रतिशत ले बढेको देखाएको छ । यस्तै बार्षिक रुपमा १.६ प्रतिशतले बढदै गरेको देखाएको छ। यी आकडा र तथ्यबाट नेपालमा पनि यो रोग एक गम्भीर स्वास्थ्य समस्याको रुपमा रहेको बुज्न सकिन्छ ।
कसरी लाग्छ पार्किन्सन ?
पार्किन्सन एक दीर्घ रोग हो, जुन बिस्तारै – बिस्तारै बढ्दै जाने गर्दछ। मस्तिष्कमा रहेका कोषलाई ‘न्युरोन’ भनिन्छ। एक विषेश प्रकारको न्युरोन ‘डोपामिनर्जिक न्युरोन’ ले डोपामिन भन्ने रसायन पैदा गर्दछ, जसको एक प्रमुख काम भनेको शरीरका मस्तिष्कमा सूचना प्रवाह गर्ने र अंग, मांसपेशीको चाललाई नियन्त्रण गर्न सहयोग गर्नु हो।
पार्किन्सन बिमारीमा मस्तिष्कमा रहेका डोपामिनर्जिक न्युरोनहरु क्रमिक रुमपा मर्ने गर्दछन् जसले गर्दा मस्तिष्कमा आवश्यक मात्रामा “डोपामिन” उत्पादन हुन सक्दैन । अतः मस्तिष्कमा डोपामिनको कमीले गर्दा शरीरका अंग, मांसपेशीमा रोगीको नियन्त्रण गुम्दै जान्छ र अन्ततः बिमारीहरु आफ्नो सामान्य दैनिक कामको लागि पनि पूर्ण रुपमा अरुको भर पर्नु पर्दछ ।
पार्किन्सनको मुख्य लक्षणहरु सुरुवातमा औंलाहरु, हात, खुट्टाहरु काप्ने गर्दछ र बिस्तारै यो शरीरको अन्य भागमा पनि फैलन्छ । साथै अन्य लक्ष्यणहरु पनि देखा पर्न थाल्दछ । जस्तै हिडडुल गर्दा मांसपेशीहरु कडा हुने, चालमा कमि आउने, शरीर असन्तुलन हुँदा अगाडी तिर झुकेर हिड्ने, स्मरण क्षमतामा कमी, डिप्रेसन, दृष्टि भ्रम, ध्यान केन्द्रित नहुने, गंध थाहा नहुने, निद्रमा समस्या, पिसाब नियन्त्रणमा समस्या, बोलीमा समस्या आदि।
शुरु शुरुमा बिमारीहरुले यी लक्षणहरुलाई सामान्य मानेर बेवास्ता गर्ने गरेको पाइएको छ । पछि जब लक्षणहरु बढ्दै जान्छ र समस्या महसुस थाल्दछ अनि मात्र स्वस्थ जाँच गर्न पुग्दछन।
पार्किन्सन रोग जाँच गर्ने कुनै खास परीक्षण छैन । चिकित्सक (न्यूरोलोजिस्ट) ले स्नायु प्रणालीको परीक्षण, शारीरिक परीक्षण र लक्षणहरुका आधारमा पार्किन्ससन रोग पत्ता लगाउने गर्दछन्।
अहिले सम्म पनि यो रोगको कारण पत्ता लागेको छैन। यो रोग वंशानुगत कारणले हुन सक्ने भनिए पनि जम्मा १० प्रतिशत बिमारीहरुको परिवारमा मात्र पार्किन्सन भएको देखिएको छ । यसबाट प्रष्ट हुन्छ कि पार्किन्सन वंशानुगत कारणले भन्दा अरु नै कारणले धेरै हुने गर्दछन जस्को खोज गर्न अझै बाँकी छ।
पार्किन्सन रोग सम्बन्धि भएका खोज, अनुसन्धानबाट महत्वपुर्ण उपलब्धिहरु हात पर्नुका साथै र आश लाग्दा सम्भंवना देखिए पनि अहिलेको दिन सम्म यो रोग निको पार्ने कुनै औषधि र उपचार प्रबिधि पत्ता लागेको छैन।
अहिलेसम्म यो रोगको उपचार भनेको विभिन्न औषधिहरुको प्रयोगले मस्तिष्कमा डोपामिनको मात्र बडाउने र पार्किन्सनले गर्दा देखा परेका लक्ष्यणहरु नियन्त्रण गर्ने मात्र रहेको छ। बिमारीको अबस्था हेरेर अपरेसन गरेर मस्तिस्कमा एक उपकरण डीप ब्रेन स्टीमुलेशन (डीबीएस) जोडेर पनि बिरामीहरुको उपचार गर्ने गरिन्छ।
पार्किन्सन आफैमा प्राणघातक रोग हैन तर यो रोगका कारण शरीरमा अन्य रोगहरुले आक्रामक गर्ने गर्दछ जस्को कारणले पार्किन्सन बिमारीको मृत्यु पनि हुनसक्छ।
अहिले सम्म पार्किन्सन रोग रोकथाम गर्ने उपाय पत्ता नलागे पनि नियमित रुपमा व्यायाम गर्नाले, हरियो सागसब्जी, फलफुल, भिटामिन, माछा आदिको संतुलीत भोजनले यो रोग लाग्ने सम्भावना कम हुने पाइएको छ ।
संसारबाट लोप भएका अनेकन रोगहरु हाम्रो देशमा अझै जरा गाडेर बसेका छन्। सरकार र हामी सबैको ध्यान पनि त्यतै तिर छ । त्यसैले पार्किन्सन रोग हाम्रो प्राथमिकतामा पर्नै सकेको छैन। सरकारले यस बारेमा जनचेतन मुलक कार्यक्रम सञ्चालन गर्नु अती आवश्यक छ।
समयमा नै यो रोग पत्ता लागे मात्र बिरामीको जीवन गुणस्तर राम्रो हुन सक्दछ। जब व्यक्तिहरुको जीवन गुणस्तर राम्रो हुन्छ अनि मात्र परिवार र समुदायको गुणस्तर राम्रो हुने आधार बन्दछ । समृद्धि समाजबाट नै समृद्धि देशको कल्पना गर्न सकिन्छ, तसर्थ नेपलामा हामी सबैले पार्किन्सन सम्बन्धि जनचेतन फैलाएर जनतामा स्वास्थ्य सम्बन्धि जागरूकता गराउन पर्दछ। पार्किन्सन बिरामीहरुको रेखदेख र उपचारको लागि सरकारले उचित ब्यवस्था मिलाउनु अती आवश्यक रहेको छ ।# परियार दक्षिण कोरियाको वोंनकोङ्ग युनिभर्सिटीमा न्यूरो फर्माकोलोजीमा पीएचडी गर्दै छन् ।