नेपाली विद्यार्थीका लागि कोरिया चुनौति सँगै अवसर पनि
(यो मेरो लेख मिति: शुक्रबार, साउन ४, २०७५, setopati.com मा प्रकाशित भएको थियो।)
रमेश परियार: छोटो समयमा तिब्र विकास गरि उदाहरणिय बनेको दक्षिण कोरिया नेपालीका लागि वैदेशीक रोजगारीको आकर्षक मुलुक हो।
राम्रो तलब र सुविधाले वैदेशिक रोजगारीमा कोरियाको आकर्षण बढ्दो छ।
रोजगारीसँगै पछिल्लो समय उच्च शिक्षा अध्ययनको लागि कोरिया आउने नेपाली विद्यार्थीको संख्या बढेको छ। हाल कोरियाम नेपाली विद्यार्थीको संख्या करिब ९ सय जना रहेको तथ्याङ्क छ।
कोरियालाई उच्च शिक्षाको ‘हब’ बनाउने सरकारी लक्ष्यमा कोरियामा घट्दो जन्मदरले स्थानीय विद्यार्थीको संख्या घट्दै गइरहेको छ।
विश्वविद्यालयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफ्नो मूल्याङ्कन बढाउन विदेशी विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने भएकाले कोरियाले विदेशी विद्यार्थीहरु भित्राउन थालेको हो।
आगामी सन् २०२३ सम्ममा २ लाख विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य राखेको कोरियन सरकारले आफ्ना केही नियम परिमार्जन गरेसँगै २०१४ देखि विदेसी विद्यार्थीको संख्या बढ्दै गएको छ।
कोरियाको शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष विद्यार्थी संख्या १८.८% ले वृद्धि भई कुल विदेशी विद्यार्थी १ लाख २३ हजार ८ सय ५० पुगेको छ।
विदेशी विद्यार्थीहरुको संख्या बढेसँगै कोरियाका विभिन्न सञ्चार माध्यमले विदेशी विद्यार्थीका समस्या र कोरियन विद्यार्थीको असन्तुष्टि बारे बेला-बेलामा कुरा उठाउने गर्दछन्।
विदेशी विद्यार्थीलाई मुख्यतः भाषाको समस्यालगायत खानपिन र कोरियाको चालचलनमा आफूलाई समायोजन गर्न समस्या भइरहेको छ भने कोरियन विद्यार्थीको मुख्य असन्तुष्टि भनेको उनीहरूलाई विश्वविद्यालयमा प्रवेश पाउन ठूलो प्रतिस्पर्धा गर्नुपर्ने, तर विदेशी विद्यार्थीले सजिलै प्रवेश पाउने रहेको छ।कसरी आउछन् नेपाली विद्यार्थी कोरिया?
कोरिया अध्ययन गर्न आउने केही विद्यार्थी कोरिया सरकारको छात्रवृत्ति (के.जी.एस.पी. र कोईका) लगायत विभिन्न विश्वविद्यालय तथा संघसंस्थाले प्रदान गर्ने छात्रवृत्तिमा आउँछन्।
यी छात्रवृत्तिबारे इन्टरनेटबाट जानकारी लिन र राजदूतावासमा पनि बुझ्न सकिन्छ।
त्यस्तै केही विद्यार्थीहरू प्रोफेसरको प्रायोजनमा अध्ययन गर्न आउछन्। केही विद्यार्थी आफैं शिक्षण शूल्क तिरेर अध्ययन गर्न आउँछन्।
आजभोलि आफैं शिक्षण शुल्क तिरेर कोरियन भाषा र स्नातक तह अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या बढ्दै गएको छ।नेपाली विद्यार्थीले भोग्नु परेका मुख्य समस्याहरू:
यहाँ एउटा भनाई छ, ‘कोरियामा बस्न कोरियन जस्तो हुनुपर्छ।’
कोरियनहरू आफ्नो भाषा र संस्कृतिलाई अति नै प्राथमिकता दिन्छन्। अंग्रेजी धेरै कमले बुझ्ने गर्छन् भने बुझ्नेहरू पनि सकेसम्म कोरियनमै बोल्छन्। त्यससैले कोरियन भाषा नबुझ्ने विदेशीका लागि ठूलो समस्या पर्छ।
विश्वविद्यालयदेखि काम गर्ने ठाउँसम्म, घुम्न जाँदा होस् या किनमेल गर्न कोरियन भाषा नजान्ने हो भने समस्या भोग्नुपर्ने हुन्छ।
अर्को समस्या भनेको महंगो शिक्षण शुल्क र कोठा भाडा हो।
विद्यार्थीहरूले हप्ताको २० घण्टा काम गर्ने अनुमति पाउँछन् भने सेमेस्टर ब्रेकमा जति पनि काम गर्ने अनुमति हुन्छ। ठाउँ अनुसार विद्यार्थीलाई कामको अवसर कतै धेरै छ त कतै कम छ। तर, कोरियन भाषा राम्रो हुनेको लागि काम पाउन धेरै सजिलो छ। त्यस्तै कोरियाको खानपिन नेपालको भन्दा धेरै फरक हुँदा सुरूका दिनमा असहज हुन्छ।
कोरियन खानामा धेरै जसो मासुको परिकार हुनाले शाकाहारीलाई कठिनाइ हुनसक्छ।
कोरियाको स्वास्थ्य सेवा उत्कृष्ट भए पनि महंगो हुनाले स्वास्थ्य बिमा गर्नुपर्ने हुन्छ। त्यस्तै कति विश्वविद्यालयमा अंग्रेजी माध्यममा पढाई नहुने, विषय नमिल्नेदेखि प्रोफेसर र कोरियन सहकर्मीसँगको सम्बन्ध राम्रो नहुँदा विश्वविद्यालय परिवर्तन गर्नुपर्ने वा बिचमै पढाइ छोड्नुपर्ने सम्म हुन सक्छ।
यस्ता धेरै समस्यामा पर्नेहरू विशेष गरी कन्सल्टेन्सीबाट कोरिया आउने विद्यार्थी छन्।
कन्सल्टेन्सीले कोरियाको बारेमा गलत सूचना दिने, कोरियाका पर्नसक्ने समस्याबारे जानकारी नगराउने, लोभ र धेरै सपना देखाउने गरेको र विद्यार्थी पनि आफूले खोज तलास नगरी कन्सल्टेन्सीकै भरपर्दा यहाँ उनीहरुले सोच्नै नसोचेको समस्या भोग्नुपर्दा मानसिक रुपले झन बडी तनावमा पर्छन्।कोरियामा अध्ययन गर्न चाहनेको लागि सुझाव:
कोरियाको विकसित हुनुमा यहाँको शिक्षाको ठूलो भूमिका छ। विज्ञान र प्रविधि क्षेत्रमा अध्ययनको लागि कोरिया एक उत्कृष्ट देश मानिन्छ। यहाँका धेरै विश्वविद्यालय संसारकै उत्कृष्ट मध्येमा पर्छन्। अन्य विषय अध्ययनको लागि पनि कोरिया उपयुक्त छ।
यहाँको शिक्षा प्रणाली प्रयोगात्मक र व्यावहारिक ज्ञानमा जोड दिएको पाईन्छ। कोरियामा अध्ययन गर्न चाहानेले कोरिया आउनुभन्दा पहिला कुन विश्वविद्यालयमा कुन विषय पढ्ने, प्रोफेसर कस्ता छन्, आफ्नो लागि कस्तो प्रोफेसर छान्ने, शुल्क कति लाग्छ आदि कुराहरु सबै इन्टरनेटमा उपलब्ध हुन्छन्। यी सबै बुझेर मात्र भर्नाको लागि आवेदन दिनुपर्छ र कोरिया आउनु भन्दा अघि जति सकिन्छ कोरियन भाषा पढेर आउनु राम्रो हुन्छ।
अब चाडै नै कोरियन सरकारले विद्यार्थीलाई काम गर्न दिन कोरियन भाषाको लेभल ३ पास गर्नुपर्ने नियम लागू गर्दैछ जसले गर्दा कोरियन भाषा सिक्नु अति आवश्यक हुन्छ।
त्यस्तै गरि कोरिया आउँदा कन्सल्टेन्सीको मात्र भर नपर्नु होला, इन्टरनेटमा खोज्ने, कोरियामा रहेका आफूले चिनेकासँग सोध-पुछ गर्ने गर्नुहोला र कोरियामा अध्ययनको बारेमा कुनै पनि सुझाव-सल्लाह चाहिए ‘नेपाली विद्यार्थी समाज कोरिया (सोन्सीक)’ सँग पनि जानकारी लिन सक्नुहुन्छ।
समग्रमा भन्नुपर्दा कोरिया चुनौतिको पहाड हो भने अवसरहरुको सागर पनि हो।
(लेखक दक्षिण कोरियाको वोनक्वाङ्ग युनिवर्सिटीमा न्यूरो-फार्माकोलोजीमा पी.एच.डी. गर्दै छन्)