All blog posts are base on evidence and fact

HealthNeuro & Science

कफी कति खाने र यसको फाइदा के के छन् ?

Share

नेपालमा चिया खाने चलनको लामो इतिहास छ। आजभोलि कफी (Coffee) खाने चलन पनि धेरै बढेको पाइन्छ। कफीको बढेको प्रयोगसँगै यसको बारेमा चासो बढ्नु पनि स्वाभाविक नै भयो। त्यसैले कफीले शरीरमा कसरी काम गर्दछ र यसका फाइदाहरू के छन्, यसको नराम्रो असर के छ र कति सम्म कफी पिउँदा राम्रो हुन्छ भन्ने बारे यहाँ जानकारी दिन खोजेको छु।

 कफीमा सयौँ तत्त्व/यौगिकहरू (bioactive compounds) हुन्छन्, जस्तै क्याफिन (Caffeine), क्लोरोजेनिक एसिड (Chlorogenic acids), क्याफेस्टोल (Cafestol), ट्राइगोनेलाइन (Trigonelline) आदि। कफीको सबैभन्दा मुख्य तत्त्व भनेको क्याफिन (Caffeine) हो र यसले नै हाम्रो केन्द्रीय तंत्रिका प्रणाली (central nervous system) लाई उत्तेजित गर्छ।

अब यो क्याफिनले हाम्रो केन्द्रीय स्नायु प्रणाली मस्तिष्कमा कसरी काम गर्छ भन्ने बारे चर्चा गरौँ।

क्याफिनको आकार हाम्रो मस्तिष्कमा हुने अर्को न्यूरोट्रान्समिटर एडेनोसिन (adenosine) सँग मिल्दोजुल्दो हुन्छ।न्यूरोट्रान्समिटर भनेका रासायनिक संकेतहरू हुन् जसले हाम्रो मस्तिष्कमा एक ठाउँबाट अर्को ठाउँमा सन्देश लैजाने गर्दछन्। एडेनोसिन न्यूरोट्रान्समिटरले हामीलाई आलस्य बनाउने, निद्रा लाग्न लगाउने गर्दछ। दिन बित्दै जाँदा एडेनोसिन हाम्रो शरीरमा बढ्दै जान्छ र हामीलाई आलस्य लागेर बिस्तारै निद्रा लाग्ने गर्दछ।

जब हामी कफी पिउँछौँ, कफीमा रहेको क्याफिन हाम्रो मस्तिष्कसम्म पुग्छ र क्याफिनको आकार एडेनोसिनजस्तो हुने हुँदा, एडेनोसिन टासिनु पर्ने ठाउँमा क्याफिन गएर टासिन्छ। फलस्वरूप एडेनोसिनले काम गर्न पाउँदैन र हामीलाई अल्छी, आलस्य लाग्दैन र हामी सतर्क (alert)  हुने गर्दछौ। 

क्याफिनले  हाम्रो मस्तिष्कमा नरअड्रेनालाईन (noradrenaline), डोपामाइन (dopamine) र सेरोटोनिन (serotonin) सहित अन्य न्यूरोट्रान्समिटरहरू बढाएर मस्तिष्कलाई  थप क्रियासिल बनाउछ, फलस्वरुप हाम्रो  मानसिक स्थिति, सतर्कता, ध्यान, सिक्ने जस्ता कार्यमा सुधार गर्दछ। 

क्याफिनले डोपामिनको मात्रा बढाउने हुँदा हामीलाई आनन्द पनि महसुस गराउँछ।

धेरै अध्ययनहरूका अनुसार कफीले हाम्रो स्मृति शक्ति (memory power) पनि बढाउने र मस्तिष्कसँग सम्बन्धित पार्किन्सन, अल्जाइमर जस्ता रोग लाग्नबाट बचाउने गर्छ ।

हालै २०२२ मा प्रकाशित अनुसन्धानमा, जुन युरोपमा २.५ लाख मानिसमा गरिएको थियो, यो अध्ययनका अनुसार कफी पिउने मानिसहरू कफी नपिउनेहरूभन्दा धेरै बाँच्ने र उनीहरूमा मुटुसम्बन्धी रोग पनि कम लाग्ने देखिएको छ।

यसरी कफीका धेरै फाइदाहरू रहेका छन्। त्यसैले प्रश्न उठ्छ, कति कफी खाँदा यस्ता फाइदा हुन्छन् त?

FDA ले बताए अनुसार स्वस्थ वयस्कहरूले दैनिक लगभग 4 वा 5 कप (400 मिलिग्राम) कफी उपभोग गर्न सकिन्छ।  

अब कफी पिउदा ध्यान दिनु पर्ने कुरा गरौ।  यदि कोहि  गर्भवती बन्ने सोचमा हुनुहुन्छ वा गर्भवती हुनुहुन्छ, स्तनपान गर्दै हुनुहुन्छ, क्याफिनको लागि संवेदनशील हुनुहुन्छ, औषधि लिनुहुन्छ भने, तपाइँ स्वास्थ्य सेवाक संग परामर्श गरेर मात्र कफी खाने कि नखाने, कति सम्म खाने भन्ने बारे सोध्न सक्नु हुनेछ।

अन्त्यमा, सामान्य मात्रामा कफी पिउदा शरीर र दिमाग दुवैमा फाइदा हुने गर्दछ। 

(नोट :यो लेख लेखिरहदा कफी खान मन लागि हाल्यो, यो ब्लग पोस्ट गर्ने बितिकै कफी खान जानेछु, तपाइको केहि प्रश्न भए कमेन्टमा सोध्न सक्नु हुनेछ।)


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *