गोर्खाको ईतिहास दार्जिलिङमा स्थापन गर्ने दुस्प्रयास नहोस
२०१७/०६/२७: रमेश परियार:
गोर्खाल्याण्ड प्रदेशको माग राख्दै भारतमा चलिरहेको नेपाली भाषीहरुको आन्दोलनमा प्राय: सबै नेपालीहरुको ब्यापक साथ र समर्थन छ । नेपालीहरुको निस्वार्थ साथ र समर्थन हुदा हुदा पनि यताकता केहि जिम्मेवार पदमै रहेका आन्दोलनकर्ताले नेपाल र नेपालीहरुको सम्मान र स्वाभिमानमा आच आउने गरि अति तुच्छ टिकाटिप्पणीहरु गरेको देखिन्छ, जुन सरासर एकदमै गलत कार्य हो । उनीहरुको यस्तो दुस्कार्यले सम्पूर्ण नेपालीहरुको मन दुखेको छ । जो सुकै किन नहुन नेपाल र नेपालीको स्वाभिमान माथि आच आउने कुनै पनि कुरा हामीलाई कदापी सैय हुने छैन ।
भारतमा रहेका नेपालीभाषीहरुले गोर्खालीको ईतिहासलाई आफ्नो ईतिहास भनेर गर्व गरिरहदा उनिहरुले यो कुरा भुल्नु हुदैनकी गोर्खा भन्ने ठाउँ थियो रपो गोर्खाली भन्ने नामाकरण भयो र संसारमा आफ्नो छुट्टै ईतिहास बनायो, त्यो गोर्खालीहरुको उद्गम स्थल नेपाल हो न कि भारत/दार्जीलिङ । नेपाल र नेपालीलाई
अपमान गरेर गोर्खाली ईतिहासमा गर्व गर्नु अल्पज्ञानको परिणाम मात्र हो ।
गोर्खाली भनि विरताको गाथा गाउदै गर्व गर्न नेपालीहरुलाई मात्र हक छ । ईतिहास साक्षी छ जो नेपाली हैन त्यो गोर्खाली हुनै सक्दैन र जो सच्चा गोर्खाली हो त्यो नेपाली बाहेक अरु कोहि हुनै सक्दैन, किनकि हामी गोर्खालीको मन मस्तिष्कमा ”जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने मान्यता रहेको हुन्छ । गोर्खालीले संसार बदलेको छ तर आफु कहिल्यै बदलिएको छैन, जो बदलिएको छ त्यो गोर्खाली हुदै हैन ।
गोर्खाल्याण्डको आन्दोलनमा हाम्रो साथ थियो, छ र रहनेछ तर ईतिहास लाई तोडमोद गर्दै नेपालीको गोर्खाको ईतिहास दार्जिलिङमा स्थापन गर्ने दुस्प्रयास कार्य नहोस, जुन हामीलाई कदापि सैय हुने छैन । जय नेपाल जय गोर्खाली ।