कोरिया प्रकरण: हुण्डी सञ्चालकबाट जोगिऔं !
रमेश परियार, वोन्क्वङ् युनिभर्सिटी, दक्षिण कोरिया (मेरो यो लेख मिति २०७२ चैत ९ गते onlinekhabar.com मा प्रकाशित भएको थियो।)
कोरियामा गर्मीको मौसम विस्तारै बढेको छ । तर, कोरियाका अनलाइन समाचार अनि कोरियामा बसोबास गर्ने नेपालीहरुको सामाजिक सञ्जाल (फेसबुक र टुइटर) को भित्ताको गर्मी भने अलि धेरै नै बढेको छ । सामाजिक सञ्जालको गर्माउनुको कारण हो- हुण्डी ।
सोगेन्द्र घलेः एनआरएनको धब्बा
हुण्डीमार्फत दुई करोड ९० लाख नेपाली रुपैयाँ नेपाल पठाउने भनी उठाएर फरार रहेका सोगेन्द्र घलेको अर्को परिचय हो एनआरएन कोरियाको वर्तमान सचिव । त्यसपछि त के, हुण्डी कारोबारी र एनआरएनलाई जोडेर सर्बत्र आलोचना सुरू भएको छ ।
आलोचना नहोस् पनि कसरी ? विदेशको कमाइ ठगी भएको छ, त्यो पनि सबैको विश्वासिलो र लोकप्रिय संस्थाका पधाधिकारीबाटै ।
एउटा घलेले (गैरआवासीय नेपाली संघका अध्यक्ष: शेष घले) नेपाल र नेपालीको सेवा गरेर गैर आवासीय नेपाली संघलाई शिखर चुमाएका छन् । अर्का घले (एनआरएन कोरिया सचिव सोगेन्द्र घले) ले चाहिँ नेपाल र नेपालीलाई नै ठगेर यो संघलाई नै आलोचित गराएका छन् ।
गैरआवासीय नेपाली संघ आलोचित गराउन एनआरएन कोरियाले प्रशस्त ठाउँ राखिदिएको छ । जस्तै- एनआरएन कोरियाले सोगेन्द्र घले फरार भएको समाचार आएपछि मात्रै मार्च १६ मा एक विज्ञप्ति निकालेर घलेलाई मार्च ६ कै कार्यसमिति बैठकले बिनासूचना लगातार ३ पटकसम्म उपस्थिति नभएको भन्दै
सचिवबाट बर्खास्त गरिएको जानकारी गराएको छ ।
यसले एनआरएन कोरिया पानीमाथिको ओभानो बन्न खोजेको त हैन भन्ने प्रश्न उठेको छ । हैन भने उनी पैसा खाएर फरार हुनुअघि नै बर्खास्त गरिएको व्यक्तिको जानकारी किन गरिएन ?
एनआरएन कोरियाको सचिवजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले गैरकानुनी काम हुण्डी कारोबार गरिरहँदा एनआरएन किन केही नगरी मूकदर्शक भएर बसेको ?
आफ्नै आँखा अगाडि भएको कामलाई पहिल्यै नजरअन्दाज गर्ने, अनि यतिका ठूलो घटना भएपछि घलेको गैरकानुनी कार्यलाई व्यक्तिगत क्रियाकलाप भनेर आफु पन्छिन मिल्छ ?
सोगेन्द्र घलेलाई उनको नामले भन्दा पनि एनआरएन कोरियाको सचिव पदले चिन्ने धेरै छन् । तसर्थ घलेले एनआरएन पदको दुरुपयोग गरेको नकार्न सकिँदैन ।
एनआरएन पदाधिकारी, जो परदेशी नेपालीहरुको सेवा गर्छु भनेर सपथ खाने गर्छन्, उनीहरुले नै गैरकानुनी काम गर्दा र उनीहरुबाटै परदेशी नेपालीहरुले दु:ख पाउँदा पक्का पनि यो संघप्रतिको सम्मान र विश्वास गुम्छ । र, गुमेको पनि छ ।
एनआरएन कोरियाप्रतिको आस्था र विश्वास कायम राख्न एनआरएनले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै पीडितहरुलाई सम्बोधन गर्नुपर्छ । न कि आफ्नो बचाउ मात्र ।
किन फस्टाउँदैछ हुण्डीको धन्दा ?
सबैलाई थाहा छ, हुण्डी करोवार गैरकानुनी हो । हुण्डी करोवारबाट कर छली हुनाले देशलाई ठूलो नोक्सानी हुन्छ।
सोच्नुपर्ने कुरा यो छ कि अरु विश्वसनीय माध्यमहरु हुँदाहुँदै र हुण्डी गैरकानुनी भन्ने ज्ञान हुँदाहुँदै हुण्डीबाट नै किन पैसा पठाउने गर्छन् त नेपालीहरु ? पक्कै पनि जोखिमपूर्ण भए पनि सस्तो, सहज, सरल तरिकाले पैसा पठाउन सकिने हुनाले नै मानिसहरु हुण्डी प्रयोग गर्छन् ।
हुण्डी कारोवारले देशलाई हुने नोक्सानका बारेमा केन्द्रित भएर चर्चा र परिचर्चा धेरै हुने गर्दछ । तर, मुख्य कुरा भनेको समाधानको खोजी हो । जुन कुरामा न छलफल नै प्रयाप्त भएको छ, न त काम नै हुन सकेको छ ।
बैंकबाट पैसा पठाउँदा सुरक्षित हुन्छ भन्ने थाहा नभएर हैन हुण्डी फस्टाएको कोरियामा । मानौं या नमानौं, नेपालीहरुलाई यहाँका बैंकहरुले भन्दा राम्रो सेवा दिने भएरै यो कारोवार गैरकानुनी हुँदा हुँदै पनि आजसम्म चलेको छ ।
राम्रो सेवा यो मानेमा कि बैंक भन्दा सस्तोमा, चाँडै अनि जुनसुकै समयमा पनि पैसा पठाइदिने गर्छन् हुण्डी कारोवारीहरुले ।
हुण्डी चलाउनेहरु पनि नेपाली भएको र नेपालीमै बोलचाल हुनेहुँदा अलि बिश्वास कमै होस् तर बिश्वास नै लाग्दै नलाग्ने भने हुँदैन । जसका कारणले पनि यो कारोवार फैलिएको छ र नेपालीहरु नेपालीबाटै ठगिइरहेका छन् ।
नेपाली माझ एउटा कथा अति लोकप्रिय कहावत छ, जसमा एक ऋषिले राजकुमार हो कि हैन पत्ता लगाउन एक प्रश्न गर्छन् । उनले बालकलाई भन्छन् “हामी जाने ठाउँ धेरै टाढा छ, दुईवटा बाटा छन् । एउटा लामो छ, तर सुरक्षित बाटो छ । अनि अर्को छोटो बाटो छ, तर एकदमै खतरायुक्त छ । अब तिमी भन, हामी कुन बाटो जाने ?”
कथामा राजकुमारले टाढा भएकाले समयमै पुग्नका लागि छोटो तर खतरायुक्त बाटो रोज्छन् । उक्त कथाको जस्तै नेपालीहरु माझ हुण्डी पनि त्यही छोटो तर एकदमै खतरायुक्त बाटो बनेर रहेको छ ।
नेपालीहरु पनि बैंकमा हुने बिबिध झन्झटका साथै अलि महंगो दरले गर्दा बैंक भन्दा हुन्डी नै खतरायुक्त बाटो रोज्ने गर्दछन् । यसले सरकारलाई त घाटा छँदैछ, हुण्डी कारोवारीले पैसा लिएर फरार हुँदा धेरै नेपालीहरुले आफ्नो दुखको कमाइ गुमाएका छन् । दुखका साथ भन्नुपर्छ यसरी ठग्ने र ठगिने दुबै नेपाली नै छन् ।
कसरी रोक्ने हुण्डीको धन्दा ?
हुण्डीको कारोवार रोक्नका लागि धेरै उपायहरू छन् । तर, विडम्वना भनौं, काम केही हुँदैन । सरकारी स्तरबाट नै कडा कानुन बनाएर हुन्डी करोबारीलाई कानुनको दायरामा ल्याउन सक्नुपर्दथ्यो । तर, यो हुन सकेको छैन । न त आजसम्म कुनै सरकारी मान्यता प्राप्त र सबैको पहुँच हुने सस्तो, सहज, सरल र गुडस्तरीय रेमिट्यान्स सेवा सुबिधा नै उपलब्ध हुन सकेको छ ।
सरकारको यही कमजोरीको फाइदा हुण्डी सञ्चालकले उठाएका छन् । र, उनीहरूले नेपाली दाजुभाइहरुलाई ठगी गरिरहेका छन् ।
हुण्डीभन्दा बैंकबाट रेमिट्यान्स कारोबारमा आकर्षण गराउन पैसाको सुरक्षा मात्र हैन, सहज, सरल र गुणस्तरीय बैंकिक सेवाका साथै , सस्तो दर हुन आवश्यक छ ।
हुण्डीको ठगीबाट पीडितहरुले हुन्डीबाट पैसा पठाउने काम गैरकानुनी भए पनि परदेशमा पसिना बगाएर कमाएको पैसा पक्का पनि गैरकानुनी छैन । एनआरएनप्रतिको आस्था र विश्वास कायम राख्न एनआरएनले आफ्नो जिम्मेवारी लाई पूरा गर्दै पीडितहरुलाई सम्बोधन गर्नुपर्छ र आफ्ना कमजोरीहरुमाथि समीक्षा गर्नुपर्छ ।
सरकारले पनि यस्तो अर्बौंको कर छली हुने र हजारौं नेपाली बारम्बार ठगिने हुण्डी कारोबार रोक्न उचित कदम चलाउँदै बिदेशको कमाइ सरल, सुलभ र सुरक्षित तवरले नेपालसम्म पुग्ने सेवा संयन्त्र बनाउनुपर्छ ।