महाधिवेशनमा कहाँ कहाँ चुक्यो कांग्रेस?
रमेश परियार (यो मेरो लेख मिति: 2016-03-14 setopati.com मा प्रकाशित भएको थियो )
नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी र अहिलेको सबै भन्दा ठूलो पार्टी भएकाले १३ औं महाधिवेशन चर्चामा त थियो नै। त्यसमाथि नयाँ संविधान बनेपछिको पहिलो पार्टी महाधिवेशन भएकोले पनि यो बिशेष रहयो। यो महाधिवेशनबाट नयाँ नेतृत्व पाएको छ। ठूलो पार्टी भएकोले धेरै जनताको आशा र अपेक्षा पनि धेरै नै हुने नै भए।
यी नै आशा र अपेक्षामाझ केही कुरामा चुकेको छ कांग्रेस।
देशमा नयाँ संविधान सँगै नयाँ जोश, नयाँ सोच पनि आएको छ। देश चाँडै नै विकासको बाटोमा लाग्ने नयाँ आशा पलाएको छ। यो आशा मात्र नभएर यथार्थ पनि हो। देश विकास गर्ने भनेकै युवा पुस्ताले हो। जुन देशका युवा विदेशमा गएर विकास गर्न सक्छन् आफ्नो देशमा किन सक्दैनन्। मात्रै आवश्यक छ त नेतृत्व अनि नीतिको, जसले यी युवालाई आफ्नै देशमा बसेर काम गर्ने वातावरण दिन सकोस्।
देशको पुरानो अनि ठूलो पार्टीको हैसियतले कांग्रेसले यी पुस्ताहरुलाई सम्बोधन गर्नु पर्ने थियो, जहाँ कांग्रेस चुकेको छ।
चुनावमा युवा प्रतिनिधिहरुको संख्या उल्लेखनीय भए पनि नेतृत्वको मुख्य पदमा भने युवा उम्मेद्वार देखा परेनन्। सबै जसो पुरानै अनुहार नै दोहोरिए। एकाध प्रतिस्पर्धमा उत्रियका युवा उम्मेद्वार पराजित भए। यसले कांग्रेसमा पुरानो विचारधार नै हाबी छ भन्ने मात्र होइन, कांग्रेसले नेतृत्व गर्न सक्ने पुस्ता बनाउन नसकेको हो ? भन्ने प्रश्न पनि खडा गरेको छ। महाधिवेशन पछि नयाँ सोच, नयाँ जोस भएका युवा पुस्ताको नेतृत्वको अपेक्ष जनताले गरेका थिए, त्यो युवा नेतृत्व दिन कांग्रेस चुक्यो।
नयाँ संविधानपछिको मुख्य चुनौति यसको कार्यान्वयनमा हो। यो महाधिवशनले कांग्रेसको संविधान कार्यान्वयनका लागि कांग्रेसले कस्तो नीति लिन्छ भन्ने अहम् प्रश्नको जवाफ खोज्नु थियो। तर, जनताको ठूलो संघर्ष र त्यागपछि प्राप्त उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणालाई नै पुनर्विचार गरिनु पर्छ भन्ने सोचलाई स्थान दिएको छ। यसले अझै अन्योल खडा गरेको छ। कांग्रेसले स्पष्ट नीतिको साटो झन् आन्योल सिर्जना गरेर आफू नीतिमा पनि चुकेको छ।
२१औं शताब्दीको सबैभन्दा ठूलो उपलब्धि भनेकै विज्ञान र प्रविधिको विकास हो। विज्ञान र प्रविधिको प्रयोग बिना देश विकास हुँदैन। तर कांग्रेस महाधिवेशनमा भोटिङ मेसिन समेत प्रयोग हुन सकेन। पुरानो प्रविधिको निर्वाचनका कारण मतगणना गर्न एकसाता लाग्यो। यसमा सबैतिरबाट आलोचित त भयो नै, साथै कांग्रेस विज्ञान र प्रविधिको प्रयोग गर्न पनि नसकेको देखियो। यसमा पनि कांग्रेस चुकेको छ।
निर्वाचनमा खसेको बदर मतको संख्या पनि आलोच्य रहयो। जो चुनाव जितेर प्रतिनिधि आएका छन्, उनैलाई नै भोट गर्न आउँदैन भने अरुलाई के सिकाए होलन ती प्रतिनाधि? पक्कै पनि काँग्रेससमक्ष यो प्रश्न खडा हुन्छ कि ३ हजार प्रतिनाधिलाई भोट खसाल्न सिकाउन नसक्ने पार्टीले ३ करोड जनतालाई के सिकाउला?
महाधिवेशन त्यो ठाउँ हो जहाँ सबै को प्रतिनिधित्व हुन्छ र सबैको समान पहुँच हुनुपर्दछ। तर, शरिरिक अशक्तता भएकाको लागि उचित व्यवस्थापन र अपंगमैत्री स्थल नबनाएर उनीहरुको मन जित्न पनि चुकेको छ कांग्रेस।
आफूलाई सबैभन्दा प्रजातन्त्रमा विश्वास गर्ने पार्टी भनिरहँदा संसार भर प्रजातन्त्रको नयाँ अभ्यासका रुपमा चलेको ‘नो भोट’को अधिकार प्रतिनिधिहरुलाई दिन सकेन। त्यसैले, संसारलाई नै सन्देश दिन सक्ने यस्तो मौकामा पनि कांग्रेस चुकेको छ।