All blog posts are base on evidence and fact

My Opinion

मेरो पहिलो प्रकासित लेख: नेपालमा जिका भाइरस पर्यटकबाट भित्रन सक्छ

Share

जिका भाइरस सन् १९४७ मा अफ्रिकाको जिका जंगलमा पत्ता लागेको थियो । मानिसमा यसको संक्रमण भने सन् १९५५ मा पहिलो पटक युगान्डामा  देखिएको थियो । अहिले यो संक्रमण संसारभरिका विभिन्न  १८ भन्दा धेरै देशहरुमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले जिका भाइरस विश्वभर जनस्वास्थ्यका निम्ति खतरा भएको घोषणा गरिसकेको छ ।जिका भाइरस एडीज लामखुट्टेले सार्ने गर्दछ । एडीज लामखुट्टे दिनमा बढी सक्रिय हुने लामखुट्टे हो । यो त्यही जातको लामखुट्टे हो, जसले गर्दा नेपालमा बर्सेनी गर्मीयाममा डेङ्गु र पितजोरो जस्ता रोग फैलाउने गर्दछ ।

जिका भाइरस अहिले संसारकै लागि एबोला भाइरसभन्दा पनि खतरनाक हुन सक्ने स्वास्थ बिज्ञहरुले चिन्ता ब्यक्त  गरेका छन्  । विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक नै बोलाएर जिका भाइरसको कारण विश्वव्यापी जनस्वास्थ्यमा आपतकालीन अवस्था घोषणा गरेको छ ।उक्त निर्णय गर्नुको कारण जिका धेरै चाडो फैलने र मुख्यत यसको संक्रमण आमाबाट जन्मने बच्चाको टाउको सानो आकार र अर्धविकसित मस्तिष्कसहित जन्मिनु रहेको छ । यो टाउको सानो हुने मस्तिष्क सम्बन्धि रोगलाई “माइक्रोसेफाली” भनिन्छ ।यो रोग लागेका बच्चाहरुको टाउको सानो हुनाले मस्तिष्क पूर्ण विकास हुन  पाउँदैन ।  यो रोगले बच्चाहरुलाई मानसिकरूपले स्थायी अपांग गराउनका साथै अन्य मानसिक रोगहरु निम्ताउने गर्दछ । जसको आजसम्म कुनै उपचार छैन ।जिका विभिन्न माध्यमबाट सर्ने गर्दछ । मुख्यतया एडीज लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोक्दा यो रोग एकबाट अर्कोमा सर्ने गर्दछ । आमाबाट गर्भमा रहेको बच्चालाई यो रोग सर्दछ ।  संक्रमित व्यक्तिको रगत साथै यौन सम्पर्कबाट पनि यो भाइरस  सर्ने गर्दछ ।जिका संक्रमणपछि ८० प्रतिशत बिरामीहरुमा यसको कुनै लक्षण देखिँदैन । यसका  लक्षणहरु प्राय ३ देखि ७ दिनसम्म देखिन्छ । मांसपेसी तथा जोर्नी दुख्ने, आँखा रातो हुने, शरीरमा राता राता दागहरु देखिने, मन्द जोरो आउने, टाउको दुख्ने जिका संक्रमणका मुख्य लक्षण हुन् ।अहिलेसम्म यो जिका भाइरसबाट बच्न सकिने खोप तथा उपचारको लागि कुनै औषधि बनेको  छैन ।  जीका संक्रमण बिरामीले पूर्णरुपले सुतेर नै आराम गर्नुपर्दछ र प्रशस्त मात्रामा पानी पिउनु पर्दछ ।शरीरको दुखाइ कम गर्न औषधि पारासिटामोल र एसिटामिनोफिंन खान सकिन्छ । तर, अन्य एसप्रिन, आइब्रोफिंन खान मनाही गरिएको छ ।जिका भाइरसबाट बच्ने मुख्य उपाय भनेको नै लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।  लामखुट्टे बस्ने अनि प्रजनन गर्ने ठाउँ जमेर रहेको पानी, झाडी, फोहोर, खाली बोटल, पुरानो टायर इत्यादि स्थानहरू हुन् ।त्यसैले आफ्नो घर वरिपरि पानी जम्ने ठाउँ पुर्नुपर्दछ, पानीलाई ढाकेर राख्नुपर्दछ, घर वरिपरिको झाडी र फोहोर सफा गर्नुपर्दछ, पुराना टायर र खाली बोतल हटाउनुपर्दछ। घरमा झ्याल ढोका बन्द गर्ने, झुल टागेर सुत्ने गर्नुपर्दछ ।

नेपालमा पर्यटकहरुबाट जिका भाइरस भित्रने सम्भावना उच्च रहेको हुँदा जिका चेकजाँच नीति बनाउनु पर्ने आवश्यक देखिन्छ । समस्या आउनुभन्दा पहिले नै रोकथामका उपाय अपनाउनु नै उत्तम हुनेछ ।

यो एडीज लामखुट्टे रातमा भन्दा दिनमा बढी सक्रिय हुने हुँदा बाहिर जाँदा होस् या घरमा बस्दा, सकेसम्म शरीरलाई ढाक्ने लुगा लगाउने र बाँकी खुला भागमा लामखुट्टेले नटोक्ने  क्रिम लगाउने गर्नु पर्दछ । विभिन्न प्रतिवेदनलाई हेर्दा एशिया जिकाको उच्च जोखिममा रहेको छ । नेपाल पनि यो समस्याबाट अछुतो रहँदैन । नेपालजस्तो देश जाँदा  प्रयाप्त  स्वास्थ सेवा तथा सुविधाको कमी, स्वास्थ सम्बन्धी जनचेतनाको कमी, गरिबी जस्ता  कारणले गर्दा जिका झन् बढी ठूलो र जोखिमपूर्ण स्वास्थ्य  समस्या हुन सक्छ ।यो जिका संक्रमणका लक्षणहरु सामान्य खालको हुने गर्दछ र ५ जनामा १ जनामा मात्र संक्रमणका लक्षणहरु देखिने हुँदा हाम्रोजस्तो समाज, जहाँ अस्पताल एकदम बिमार भएपछि मात्र जाने परिपाटीले गर्दा झन् यो रोग थाहा नै नभइकन धेरै फैलने सम्भावना छ ।अब गर्मी सुरु हुन लागेको अवस्थामा गर्मीसँगै लामखुट्टे पनि बढ्ने हुँदा जिकाको जोखिम पनि बढ्ने छ । तसर्थ जीका नेपालमा देखिनु भन्दा पहिले नै जनचेतनामूक कार्यक्रमहरु प्रभावशाली ढंगले जनस्तरमा पुर्याउनु आवश्यक छ।

–लेखक वोन्क्वङ युनिवर्सिटी, दक्षिण कोरियामा अध्ययनरत हुनुहुन्छ ।

(यो लेख २०७२ फागुन ६ गते onlinekhabar.com मा प्रकासित भएको थियो।


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *