All blog posts are base on evidence and fact

News & Events

“कोरियामा रहेका विद्यार्थीहरुको लागि परिणाममुखी कार्य गर्नेछु’, सोनसिक सभापतीका उम्मेद्वार रमेश परियार

Share

यो अन्तरबार्ता August 18, 2018 मा फोनिज कोरिया मा प्रकासन भएको थियो।

लेखक:  फोनिज कोरिया संवादाता  | प्रकाशीत मिति: August 18, 2018

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५औँ साधारण सभा यही सेप्टेम्बर १ र २ तारिखमा हुँदैछ । १५औँ साधारण सभा नजिकिँदै गर्दा कोरियामा अध्ययनरत नेपाली विद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण नेपालीहरुबीच अबको नेतृत्व कस्तो हुने भन्ने बारे चर्चा चलिरहेको छ । यही सन्दर्भमा सोनसिकको १५औँ साधारण सभामा सभापतिको उम्मेद्वारको रूपमा चर्चामा रहेका छन् रमेश परियार ।

विभिन्न लेख रचनाको माध्यमबाट आफ्नो स्वतन्त्र विचार राख्दै आएका, परियार बितेका वर्षमा सोनसिक समितिको विभिन्न तहमा रहेर काम गरिसकेका छन् । बोनखोङ्ग विश्वविद्यालयमा पीएचडी अध्ययनरत रमेश परियारले यसपटकको सोनसिकको सभापतिका लागि औपचारिक घोषणा नगरे पनि सभापतिका दाबेदार उम्मेदवारको रूपमा देखिएका छन्, उनै दाबेदार रमेश परियारसँग फोनिक्स कोरियाले गरेको कुराकानी:

सोनसिकको १५ औॅ साधारण सभामा सभापतिको रुपमा तपाईको चर्चा छ उम्मेद्वारी किन अहिले सम्म घोषणा नगर्नु भएको ?

सोनसिकको विधान अनुसार औपचारिक रूपमा उम्मेद्वारी घोषणा चुनावकै दिन हुने हुँदा अहिले नै औपचारिक उम्मेद्वारीको घोषणा नगरेको हो। तर अग्रजहरू र साथीहरूसँगको कुराकानीमा आफू पनि उम्मेदवार हुने इच्छा राखेर आवश्यक सुझाव, सल्लाह मागिरहेको छु।

सभापती मै उम्मेद्वारी दिन लाग्नुको कारण ?

विगतमा लामो समयदेखि सोनसिकका क्रियाकलापहरूमा सक्रिय रहँदै आएको छु। सोनसिकको कार्यसमितिमा रहेर अथवा सोनसिक कार्यसमितिबाहिर रहेर पनि एक्लै विद्यार्थीहरूको हितमा आफूले सकेको काम गर्दै आएको छु। यो अन्तरालमा मलाई विद्यार्थीहरूका लागि देखिने गरी परिणाममूलक काम गर्न टिममा रहेर काम गर्नुपर्छ भन्ने अनुभव भयो। सोनसिक भनेको सबै बौद्धिक मानिसहरूको संगठन हो र यदि म सभापति भएँ भने सबैसँग सहकार्य गरेर धेरै परिणाममूखी कार्य गर्न सकिन्छ भन्ने विश्वासले मैले उम्मेद्वारी दिन लागेको हो।

तपाईका चुनाबी एजेन्डाहरु के के रहेका छन् ?

सोनसिक स्थापना हुँदाको परिवेश र अहिलेको परिवेश धेरै फरक छन् । हामीले अब अहिलेको समय अनुसार सोनसिकका कार्यशैलीहरूलाई परिमार्जन गर्न नसके सोनसिकप्रति विद्यार्थीहरूको विश्वास गुम्दै जान सक्छ। जसले गर्दा विद्यार्थीहरू बीचको सहकार्य र एकतामा नकारात्मक असर पर्न सक्छ। त्यसैले हामी विद्यार्थीहरू बीचको एकताको केन्द्रको रूपमा रहेको सोनसिकलाई एक ढिक्का बनाएर समयानुकूल सुधार गर्ने र कोरियामा रहेका अवसरहरूको अधिकतम उपयोग गरी विद्यार्थीहरूको चौतर्फी विकास कसरी गर्न सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर मैले आफ्ना एजेन्डाहरू स्पष्ट रूपमा बनाएको छु। ती सबै एजेन्डाहरू म आगामी साधारण सभामा प्रस्तुत गर्नेछु।

तपाईलाई आफु विजय हुन्छु भन्ने आधारहरु के के हुन. त ?

आधार नै नभए त कोही उम्मेदवार बन्दैनन्, म विजय हुन्छु भन्दा पनि सबै जनाले मलाई विजय गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। र यस्तो विश्वास हुनुको आधार भनेको नै मेरो अहिलेसम्मको सोनसिक प्रतिको लगाव र काम, मैले उठाएका मुद्दाहरू, मेरो नैतिकता र ईमानदारिता नै हो। म आफू सोनसिकमा हुँदा र नहुँदा पनि आफूले सक्ने कार्यहरू निस्वार्थ भावले गर्दै आएको छु। मैले उठाएका एजेन्डाहरू सम्पूर्ण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको एजेन्डा भएकोले र सोनसिक बौद्धिक मानिसहरूको संगठन भएकोले हामीभन्दा पनि राम्रोलाई विजय गराउनु हुनेछ भन्नेमा म ढुक्क छु।

चुनाव नजिकिदै गर्दा चुनाबको तयारी कस्तो गर्दै हुनुहुन्छ ?

चुनावको प्रचारप्रसारभन्दा पनि आफूले उठाएका एजेन्डाहरू सम्पूर्ण विद्यार्थीहरूसम्म पुर्याउनुपर्छ भन्ने मेरो मान्यता छ। विद्यार्थीहरू रचनात्मक हुनुपर्छ भन्ने धारणाले पुरानो शैलीभन्दा पनि नयाँ तरिकाले आफ्ना कुराहरू सबै सामु पुर्याउने सोचले सामाजिक सञ्जालमार्फत लिखित तथा भिडियो सन्देशहरू सकेसम्म सबैसमक्ष पुर्याउने प्रयास गरेको छु। आशा छ तपाईंको यो अन्तर्वार्ताको माध्यमबाट पनि धेरै समक्ष मेरा कुराहरू पुग्नेछन्।

विद्यार्थीहरूले भड्किलो प्रचारप्रसार गर्नुभन्दा पनि आफ्नो एजेन्डा बलियो बनाउनुपर्छ भन्ने मलाई लाग्छ। सबैलाई भेटेर आफ्नो कुरा राख्नु राम्रो भए पनि कोरियामा विद्यार्थीलाई यो त्यति सहज नहुँदा मैले सामाजिक सञ्जालको प्रयोग गरेको छु। सम्पूर्ण बौद्धिक साथिहरुले यसलाई सहज रुपमै लिनु भएको छ भन्ने प्रतिक्रिया पनि पाएको छु ।

अन्तमा केहिँ भन्न चाहनु हुन्छ ?

कोरियामा अध्ययनरत सम्पूर्ण विद्यार्थी साथीहरु र अग्रजहरूलाई साधारण सभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु। सोनसिकलाई सबै विद्यार्थीहरूको साझा थलो बनाएर यस संस्थाको गरिमालाई अझ माथि पुर्याउन सबै मिलेर जानुको विकल्प नभएको हुँदा हामी सबै मिलेर हातेमालो र सहकार्य गर्दै अघि बढौँ भन्न चाहन्छु।

सोनसिकलाई नयाँ धारले अघि बढाउन र मेरा एजेन्डाहरू मन परेमा सुझाव, सल्लाह र मत दिएर सहयोग गर्नुहोला भनी सबैलाई विनम्र अनुरोध गर्दछु।

 ( source : https://www.fonijkorea.net/news/21468 ) 


Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *