विदेशमा दशैं सम्झना
रमेश परियार (मेरो यो लेख मिति October 10, 2016, www.fonijkorea.net मा प्रकाशित भएको थियो):
बाल्यकालको समय प्राय सबैको लागि सबैभन्दा प्रिय र यादगार हुने गर्दछ । त्यस माथि पनि दशैको समय त झन् बढी नै । बच्चा बेलाको एउटै मात्र चिन्ता विद्यालयको गृहकार्य दशैमा त्यो पनि गर्नु नपर्ने, न विद्यालय नै जानुपर्ने । रोइकराई नगरी नयाँ नयाँ कपडा किन्दिने साथै मिठो मिठो खान पाइने ।
झन् दशँैमा धेरै पैसा पाउने भएकोले सबैको घरमा टिका लगाउन जाने गर्दाको खुसी र भोली पल्ट साथीहरु भेटेर कस्को बढी पैसा भनेर एक अर्कालाई तुलना गर्दाको अनुभव, साथै ३ मिनेट पिङ्ग खेल्न ३ घण्टा कुरेर बस्दाको मजा नै बेग्लै थियो । न कुर्नु पनि कसरी नयाँ लगाएको कपडा जो देखाउनु थियो साथीहरुलाई । यस्ता धेरै रमाइला अनि अविस्मरणीय अनुभावहरु जुन हामीले दसैको महोलमा सगाँल्ने गर्दछौ ।
तापक्रम अनुसार पानी कहिले बरफ बन्छ त कहिले तरल र कहिले बाफ । पानीको गुण उही हो अवस्था मात्र परिवर्तन हुन्छ । मेरो अनुभवमा पनि त्यस्तै रहेको दशैँको उही उत्साह र उमङ्गहरु आउदछ तर फरक यती छ, हाम्रो उमेर सँगै परिवर्तन हुने सोचाई, अनुभव र परिस्थितिले दशैँलाई भिन्दै बनाउदो रहेछ । एक फरक अनुभव दिने रहेछ । यही क्रममा कसैले विद्यालयको छुट्टी हुने दिन होइन कि यो त चाड पर्व रहेछ । जसको सांस्कृतिक र धार्मिक मूल्य मान्यताको धेरै नै महत्व रहेको छ । पैसाको लागी घरघर जाने म आर्शिवादको लागि आफन्तको घरमा जान लागे ।
छरिएर रहेका र कार्य व्यस्तताले भेट हुन नपाएका आफन्तहरु सँग भेट हुने तथा सुख र दुःख साट्ने अवसर दशैले जुटाई दिने गर्दछ ।
समय अनुसार काम तथा पढाईको सिलासिलामा विदेशीएकाहरुका लागि सधै दशैँमा घर नमिल्दो रहेछ । यस्तो बेला मन अति नै गह्रौ हुने रहेछ । सम्पूर्ण आफन्तको सम्झना अझ धेरै आउदो रहेछ । घर भन्दा टाढा हुदाँ साच्चि नै अति गाह्रो अनुभव हुने रहेछ । तर मानिस आफुलाई वरिपरिको वातावरणमा घुलाउँदो रहेछ । विगत र वर्षको यो दशै पनि आफैमा फरक अनुभव रह्यो । किलो किलो माटो किनेर नेपालबाट ल्याएको मकैबाट गमलामा लगाएको जमरा र अविरमा कोरियाको चामलबाट बनाएको रातो टिकाले साच्चै दशैको अनुभव भुलाउछ ।
आफ्ना अग्रजहरुले टिका लगाएर दिने आर्शिवाद र सुझावले आफन्त र परिवारबाट टाढा हुदाँको एक्लोपनलाई दुर गरेर नयाँ परिवार, बृहत परिवारको अनुभव गर्दछ । नेपालमा हुदाँ आफन्तहरु सँग मात्र टिका लगाउने, यहाँ विदेशमा देशै भरिका अग्रजहरुबाट टिका लगाएर आर्शिवाद पाउदाँ र शुभकामना आदान प्रदान गर्न पाउदाँ आफुलाई एकदम भाग्यमानी अनुभव हुन्छ ।
विदेशमा दशै यस कारणले पनि विशेष रुपमा लिने गरिन्छ कि, योे राष्ट्रियता सँग जोडिएको पर्व हो । यो पर्वले विदेशमा एक अर्काबाट परिचित नभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बिचमा पनि एक अपनत्वको भावना जगृत गराइदिन्छ । हामी सबै नेपाली एक हौ भन्ने राष्ट्रिय भाव उत्पन्न गराई दिन्छ ।
यो वर्षको विजयादशमीले सम्पूर्ण नेपालीहरुमा सुख, शान्ती समृद्धि छाओस साथै उत्तरोत्तर प्रगातिको कामना गर्दछु । सबैमा भाइचारा बढ्दै जाओस् र देशमा हामी नेपालीहरुले खोजे । जस्तो सोचे जस्तो शान्ती आओस् सबैलाई २०७३ सालको विजयादशमी तथा शुभ दिपावलीको लाखौ लाख शुभकामना ।
(लेखक दक्षिण कोरियाको वनख्वाङ् विश्वविद्यालयमा अध्ययनरत छन् ।)