नेपालमा जिका भाइरस पर्यटकबाट भित्रन सक्छ
यो लेख अनलाइनखबर ( onlinekhabar.com ) मा २०७२ फागुन ६ गते प्रकासित भएको थियो।
रमेश परियार: जिका भाइरस सन् १९४७ मा अफ्रिकाको जिका जंगलमा पत्ता लागेको थियो । मानिसमा यसको संक्रमण भने सन् १९५५ मा पहिलो पटक युगान्डामा देखिएको थियो । अहिले यो संक्रमण संसारभरिका विभिन्न १८ भन्दा धेरै देशहरुमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले जिका भाइरस विश्वभर जनस्वास्थ्यका निम्ति खतरा भएको घोषणा गरिसकेको छ ।
जिका भाइरस एडीज लामखुट्टेले सार्ने गर्दछ । एडीज लामखुट्टे दिनमा बढी सक्रिय हुने लामखुट्टे हो । यो त्यही जातको लामखुट्टे हो, जसले गर्दा नेपालमा बर्सेनी गर्मीयाममा डेङ्गु र पितजोरो जस्ता रोग फैलाउने गर्दछ ।
जिका भाइरस अहिले संसारकै लागि एबोला भाइरसभन्दा पनि खतरनाक हुन सक्ने स्वास्थ बिज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले आकस्मिक बैठक नै बोलाएर जिका भाइरसको कारण विश्वव्यापी जनस्वास्थ्यमा आपतकालीन अवस्था घोषणा गरेको छ ।
उक्त निर्णय गर्नुको कारण जिका धेरै चाडो फैलने र मुख्यत यसको संक्रमण आमाबाट जन्मने बच्चाको टाउको सानो आकार र अर्धविकसित मस्तिष्कसहित जन्मिनु रहेको छ । यो टाउको सानो हुने मस्तिष्क सम्बन्धि रोगलाई “माइक्रोसेफाली” भनिन्छ ।
यो रोग लागेका बच्चाहरुको टाउको सानो हुनाले मस्तिष्क पूर्ण विकास हुन पाउँदैन । यो रोगले बच्चाहरुलाई मानसिकरूपले स्थायी अपांग गराउनका साथै अन्य मानसिक रोगहरु निम्ताउने गर्दछ । जसको आजसम्म कुनै उपचार छैन ।
जिका विभिन्न माध्यमबाट सर्ने गर्दछ । मुख्यतया एडीज लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोक्दा यो रोग एकबाट अर्कोमा सर्ने गर्दछ । आमाबाट गर्भमा रहेको बच्चालाई यो रोग सर्दछ । संक्रमित व्यक्तिको रगत साथै यौन सम्पर्कबाट पनि यो भाइरस सर्ने गर्दछ ।
जिका संक्रमणपछि ८० प्रतिशत बिरामीहरुमा यसको कुनै लक्षण देखिँदैन । यसका लक्षणहरु प्राय ३ देखि ७ दिनसम्म देखिन्छ । मांसपेसी तथा जोर्नी दुख्ने, आँखा रातो हुने, शरीरमा राता राता दागहरु देखिने, मन्द जोरो आउने, टाउको दुख्ने जिका संक्रमणका मुख्य लक्षण हुन् ।
अहिलेसम्म यो जिका भाइरसबाट बच्न सकिने खोप तथा उपचारको लागि कुनै औषधि बनेको छैन । जीका संक्रमण बिरामीले पूर्णरुपले सुतेर नै आराम गर्नुपर्दछ र प्रशस्त मात्रामा पानी पिउनु पर्दछ ।
शरीरको दुखाइ कम गर्न औषधि पारासिटामोल र एसिटामिनोफिंन खान सकिन्छ । तर, अन्य एसप्रिन, आइब्रोफिंन खान मनाही गरिएको छ ।
जिका भाइरसबाट बच्ने मुख्य उपाय भनेको नै लामखुट्टेको टोकाइबाट बच्नु नै हो । लामखुट्टे बस्ने अनि प्रजनन गर्ने ठाउँ जमेर रहेको पानी, झाडी, फोहोर, खाली बोटल, पुरानो टायर इत्यादि स्थानहरू हुन् ।
त्यसैले आफ्नो घर वरिपरि पानी जम्ने ठाउँ पुर्नुपर्दछ, पानीलाई ढाकेर राख्नुपर्दछ, घर वरिपरिको झाडी र फोहोर सफा गर्नुपर्दछ, पुराना टायर र खाली बोतल हटाउनुपर्दछ। घरमा झ्याल ढोका बन्द गर्ने, झुल टागेर सुत्ने गर्नुपर्दछ ।
नेपालमा पर्यटकहरुबाट जिका भाइरस भित्रने सम्भावना उच्च रहेको हुँदा जिका चेकजाँच नीति बनाउनु पर्ने आवश्यक देखिन्छ । समस्या आउनुभन्दा पहिले नै रोकथामका उपाय अपनाउनु नै उत्तम हुनेछ ।
यो एडीज लामखुट्टे रातमा भन्दा दिनमा बढी सक्रिय हुने हुँदा बाहिर जाँदा होस् या घरमा बस्दा, सकेसम्म शरीरलाई ढाक्ने लुगा लगाउने र बाँकी खुला भागमा लामखुट्टेले नटोक्ने क्रिम लगाउने गर्नु पर्दछ ।
विभिन्न प्रतिवेदनलाई हेर्दा एशिया जिकाको उच्च जोखिममा रहेको छ । नेपाल पनि यो समस्याबाट अछुतो रहँदैन । नेपालजस्तो देश जाँदा प्रयाप्त स्वास्थ सेवा तथा सुविधाको कमी, स्वास्थ सम्बन्धी जनचेतनाको कमी, गरिबी जस्ता कारणले गर्दा जिका झन् बढी ठूलो र जोखिमपूर्ण स्वास्थ्य समस्या हुन सक्छ ।
यो जिका संक्रमणका लक्षणहरु सामान्य खालको हुने गर्दछ र ५ जनामा १ जनामा मात्र संक्रमणका लक्षणहरु देखिने हुँदा हाम्रोजस्तो समाज, जहाँ अस्पताल एकदम बिमार भएपछि मात्र जाने परिपाटीले गर्दा झन् यो रोग थाहा नै नभइकन धेरै फैलने सम्भावना छ ।
अब गर्मी सुरु हुन लागेको अवस्थामा गर्मीसँगै लामखुट्टे पनि बढ्ने हुँदा जिकाको जोखिम पनि बढ्ने छ । तसर्थ जीका नेपालमा देखिनु भन्दा पहिले नै जनचेतनामूक कार्यक्रमहरु प्रभावशाली ढंगले जनस्तरमा पुर्याउनु आवश्यक छ।
–लेखक वोन्क्वङ युनिवर्सिटी, दक्षिण कोरियामा अध्ययनरत हुनुहुन्छ ।